पहाडी बाली अनुसन्धान कार्यक्रम वि.सं. २०२९ सालमा दोलखा जिल्लाको जिरी गा.वि.स.मा जिरी कृषि केन्द्रको रूपमा स्थापना भएको थियो। उक्त जिरी कृषि केन्द्रलाई वि.सं. २०४४ सालमा पहाडी बालीहरू क्रमशः कोदो, जौ, फापर तथा लट्टेलाई प्राथमिकतामा राखी अनुसन्धान गर्ने उद्देश्यले दोलखा जिल्लाको सदरमुकाम चरिकोटबाट करिब ३५ कि.मी. पूर्व काब्रे गा.वि.स.मा पहाडी बाली अनुसन्धान कार्यक्रमको स्थापना गरियो।उक्त कार्यक्रमलाई विशेषगरी पहाडी बालीहरूको समस्या निराकरणका उपायहरू पत्ता लगाउन तथा त्यस सम्बन्धी अध्ययन र अनुसन्धान गर्न वि.सं. २०४९ सालमा नेपाल कृषि अनुसन्धान परिषद् मातहतमा राखियो। यस अनुसन्धान कार्यक्रमद्वारा बाली प्रजनन, बाली विज्ञान, बाली संरक्षण, माटो विज्ञान तथा कृषि प्रणाली सम्बन्धी कार्यहरू सञ्चालन हुँदै आएका छन्।अन्य कार्यक्रमहरू जस्तै धान, गहुँ, मकै, कोसेबाली तथा तेलबालीमा पनि विभिन्न परीक्षणहरू सञ्चालन गरी ती बालीहरूमा स्थानविशेष नयाँ प्रविधि विकास गर्ने प्रयास भइरहेको छ।
नेपालको राजधानी काठमाडौँबाट करिब १७० किलोमिटर उत्तरतर्फ अवस्थित यो कार्यक्रम भौगोलिक दृष्टिकोणले हेर्दा २७.३° उत्तरी अक्षांश र ८६.३° पूर्वी देशान्तरमा पर्दछ। यो स्थान समुद्री सतहबाट औसत १,७०० मिटर उचाइमा रहेको छ। यस ठाउँको अधिकतम उचाइ १,८४० मिटर र न्यूनतम उचाइ १,५६० मिटर रहेको छ। कुल १५.८ हेक्टर क्षेत्रफल रहेको यस कार्यक्रममा १.७ हे. वन तथा चरण क्षेत्र, १.६ हे. कार्यालय भवन, कर्मचारी आवास गृह तथा बाटो, ३.७ हे. आली, कान्ला तथा कुलोले ओगटेको छ भने ८.८ हे. क्षेत्रफल मात्र खेतीयोग्य रहेको छ।
कृषि वातावरणीय दृष्टिले समशीतोष्ण प्रदेशमा पर्ने यस स्थानमा मध्यम वर्षा हुने गर्दछ। यहाँ पुष–माघ महिनामा न्यूनतम तापक्रम ३° से. सम्म झर्ने गर्दछ भने जेठ–असार महिनामा अधिकतम तापक्रम २९.५° से. सम्म पुग्दछ। वार्षिक औसत वर्षा करिब २४६६.२ मि.मि. रहेको छ, जसको करिब ६०% वर्षा जेठदेखि श्रावणसम्म हुन्छ। केही भिरालो भू-भाग तथा मुख्यतः बलौटे दोमट माटो भएको कारण पानी जम्ने समस्या प्रायः हुँदैन। माटो विज्ञान महाशाखाका अनुसार यस स्थानको माटो केही अम्लीय भएकाले करिब ४००० के.जी./हे. का दरले कृषि चुन प्रयोग गरेमा राम्रो उत्पादन लिन सकिन्छ।